प्रजातन्त्र दिवसले समेत छोडेको ‘म’

Mahadev Bharati/ September 10, 2018/ By Mahadev Bharati/ 0 comments

एका बिहानै मोबाईलमा मूल समारोह समितिको नाममा नेपाल टेलिकमले सन्देश पठायो ‘प्रजातन्त्र दिवस २०७१ को शुभकामना’ !

केहि दिन अघि जिल्ला विकास समितिले पनि कार्यक्रम मनाउने सम्बन्धमा पत्र पठाएको थियो । त्यस कारण म बिहानै कार्यक्रममा सहभागी हुन्छु भनि तयार भए । प्रभातफेरीमा सहभागी भए र लाईनमा लागे । जब प्रभातफेरी अगाडी बढ्यो केहि सहभागीहरु म भन्दा अगाडी गए, करिब २०० मिटर हिंड्दा म हिंड्न लागेको अगाडी निकै ठाउँ खाली भईसकेको थियो, कारण मैले अगाडीका सहभागीहरुलाई पछ्याउन सकेन, प्रजातन्त्र दिवसले मलाई छोडेर गयो र म फर्किए ।

एकछिन घोत्लिएर बसे र सोचे कि वास्तवमा अपाङ्गता भएका ब्यक्तिहरुलाई त शाही शासन, राणा शासन र त्यस भन्दा अघिका शासनलेनै माया गरिरहेको छ । उनीहरुले अपाङ्गता भएका ब्यक्तिहरुलाई कम्तिमा साह्रै दया त गर्दथे, चाड पर्व आयो कि सिदा दान गर्दथे, मन्दिर तथा धर्मपीठहरुमा भण्डारा लगाई टन्न खान दिने गर्दथे ! त्यति बेला त हामी रैती थियौं ।

२००७ सालमा प्रजातन्त्र आयो, अपाङ्गता भएका ब्यक्तिहरुले सोचेः अव हामी पनि रैतीबाट प्रजा हुने भयौं तर फेरी पनि रैती नै भएर बाँच्नु प¥यो । पञ्चायत शासन आयो, फेरी पनि रैती, २०४६ सालमा ठूलो परिवर्तन भयो भन्ने सुनियोः फेरी पनि रैती !

अब त यो सहन सकिएन भनेर २०६२/६३ सालमा ऐतिहासिक जनआन्दोलनमा आफ्नो ज्यानको समेत वास्ता नगरि स्वतन्त्र रुपमा, लौरो, ह्वीलचियर, बैशाखी, सहयोगी बोकेर अब त हामी पनि नागरिक बन्न भनेर होमियौं, प्रहरीका लाठी खायौं, धरपकड सह्यौं, गिरफ्तारी दियौं, घोचपेच सह्यौं तर फेरी पनी रैती ! यो सबै राजतन्त्रकै कारण हो भनियो र देशमा राजतन्त्रको अन्त भई गणतन्त्रको स्थापना भयो, फेरी पनि अपाङ्गता भएका ब्यक्तिहरु रैतीका रैती नै रहे ।

आज प्रजातन्त्र हामीलाई छोडिरहेको छ, लोकतन्त्र हामीलाई छुटेको देखेर हाँसीरहेको छ, गणतन्त्र पनि लोकतन्त्रले समेत समेट्न नसकेको भनि गिज्याईरहेके छ ! केबल छ त हामीसँग अर्काले मनाउन दिएको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, जुन दिवस मनाईरहँदा पनि हामीले राष्ट्रपति तथा प्रधानमन्त्री कहाँ निवेदन पत्र बोकि गएर हामीलाई शुभकामना दिनुस् न भनि मागि रहेका छौं ।

हुन त दिवसले पनि हामीलाई के नै दिन सक्ला र ? प्रभातफेरी, परेवा उडाउने, बेलुन उडाउने, अन्तरक्रिया गर्ने, भाषण गर्ने, बक्तव्य निकाल्ने आदि…आदि । यसले दिन्छ त केबल सत्तामा बसेका र शक्तिमा रहेकाहरुलाई सन्तुष्टि दिन्छ !

देशमा सबै जातजाति, समुदाय, वर्ग, लिङ्ग, क्षेत्रको सहभागिता र प्रतिनिधित्व भयो तर अपाङ्गता भएका ब्यक्तिहरुले हामीलाई पनि नछोडि दिनु न भन्दा पनि सुनिएन । आफ्नो संविधान आफैं लेख्छौं भन्ने अभियाले समेत अपाङ्गता भएका ब्यक्तिहरुलाई होच्याईरहेको छ । राज्यको नजरमा अपाङ्गता भएका ब्यक्तिहरु भोट हाल्नका लागि योग्य छन् तर उम्मेदवार बन्न र निर्वाचित हुन उनीहरुको योग्यता छैन, उनीहरुको संख्याको कदर छैन, उनीहरुमा भएको विवेकको कुनै कदर छैन, उनीहरुमा भएको क्षमताको कदर गर्ने परिपाटी छैन । यो कस्तो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र हो ?

हाम्रा हरेक अभियानहरु सञ्चालन भईरहेकाछन्, गतिविधिहरु चलिरहेका छन्, कार्यक्रमहरु सम्पन्न भईरहेका छन् तर कुनै पनि कुराले अपाङ्गता भएका ब्यक्तिहरुलाई छोएको छैन । नीति नियमहरुले हामीलाई बिर्सिरहेका छन् । हामीमा अपाङ्गता भएका ब्यक्तिहरुको सम्बेदनशीलता नै थाहा छैन । हाम्रा निर्माण भईरहेका संरचनाहरु हामीलाई पछारीरहेका छन् । अपाङ्गता मैत्री संरचना हाम्रो मस्तिष्कमै छैन । हाम्रा ब्यवहारहरुले अपाङ्गता भएका ब्यक्तिहरुलाई सताईरहेका छौं । प्रविधि, जसले हाम्रो जिवनलाई उकास्नु पर्ने थियो त्यसले समेत हामीलाई पशु सरह ब्यवहार गरिरहेको छ, हामी अज्ञानी पशु ! त्यसलाई हामी चिन्न सक्दैनौ, पछ्याउन सक्दैनौं र त त्यसले हामीलाई माया गर्दैन । त्यसकारण त हामीलाई दिवसले समेत छोडिरहेको छ ! आँखिर यो अवस्था कहिले सम्म रहन्छ र हामी कहिले रैतीबाट नागरिक बन्ने ?

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>
*
*