ठालू, महाठालू र उपरठालू
कुनै समयमा एक ठाउँमा निकै ठूला ठालू ब्यक्ति थिए जो सबैलाई हरेक प्रकारले दुःख दिई रहन्थे । कसैलाई झुठा मुद्दा लगाएर त कसैलाई चाकरी नगरेको भन्दै अनाहकमा शारीरिक तथा मानसिक सजाय दिने गर्दथे । गाउँका सोझा साझा सबैले उनको काम निश्वार्थ रुपमा गरिदिनु पर्दथ्यो । कहिले खेत खनजोत गरेर त कहिले गाई भैसीं चराएर अनि कहिले गोडमेल । अनि यस्तै यस्तै के के हो के के ।
गाउँका सबै मानिस उनीलाई देखेर दिक्क भईसकेका थिए । उनीहरु कहिले काँहि एक आपसमा कुरा गर्दथे र भन्ने गर्थे त्यो बुढो चाँडै मरिहालोस । नभन्दै त्यो ठालू वर्षा लाग्ने बेला निकै थला प¥यो । उसलाई अव बाँच्दैन जस्तो लाग्यो । उसले मन मनै सोच्यो ः म मरे भने गाउँका सबै जना खुसी हुनेछन र सायद रिसले मेरो मलामी पनि जाने छैनन् । अब मैले मेरो सतीगती पनि यिनीहरुबाटै गराउनु प¥यो । त्यसपछि उसले गाउँका सबैजनालाई घरमा बोलायो र भन्न लाग्यो ः “गाउँले दाजुभाईहरु मैले तपाँईहरुलाई आजसम्म निकै दुःख दिए जस्तो लाग्छ । अब म यो संसारमा धेरै दिन छैन जस्तो लागेको छ । तपाँईहरु सबैजना मिलेर बस्नु र सुखसँग बाँच्नु र मैले तपाँईहरुलाई जीवनभर दुःख दिएको सट्टा म मरेको दिन गाउँका सबैजना आउनु र मेरो लासलाई मुख देखि मलद्वारसम्म फलामको डण्डीले छेडेर बजार परिक्रममा गराएर लैजानु र भन्नु कि यसले हामी सबैलाई पहिले दुःख दिएका कारण त्यसको बदला अहिले यसलाई यो सजाय दिएका हौं ।”
गाउँका पहिले दुःख पाएका तथा उसले सजाय दिएका सबैलाई उसको कुरा मन प¥यो र उनीहरुलाई अब ठालू सुध्रिएको जस्तो लाग्यो । सबै जना आ–आफ्ना घर फर्किए । नभन्दै केहि दिन पछि ति ठालू ब्यक्तिको निधन भएछ । गाउँलेहरु सबै जना जम्मा भएछन् । अब दाहसंस्कार गर्ने तयारी भएछ । दाह संस्कार गर्नु भन्दा पहिले निकै खैला बैला भएछ । कोहि उक्त ठालूलाई जलाउनु पर्छ भन्न थालेछन्, कोहि गाड्नु पर्छ भन्न थालेछन् । कोहि धेरै रिस उठेकाहरु त्यत्तिकै फालिदिनु पर्छ भन्न थालेछन् । अन्तमा ठालूले दिएको सुझावमा सबैको सहमति भएछ र उनीहरुले पहिले उसले भने बमोजिम फलामको रड खोजेर ठालूको लासलाई माछा सुकाउने तरिकाले छेडेर शहर परिक्रमा गराउन थालेछन् र भन्न थालेछन् ः यो ठालूले हामीलाई धेरै दुःख दिएका कारण हामीलिे यसलाई यस्तो सजाय दिएका हौं ।
शहरका अगुवा देखि सर्व साधारणसम्म सबै अरुका शहर जान भनेपछि मरिहत्ते गर्ने गर्दथे । सानो समस्या प¥यो कि अर्को शहरमा गएर सहयोग लिने गर्दा रहेछन् । सुझाव सल्लाह पनि अरुको शहरकै बढी लिने गर्दा रहेछन् । यो क्रम धेरै पहिले देखि चलि आएको रहेछ ।
जब अर्को शहरमा लास परिक्रमा गर्नेहरु घुमिरहेका थिए त्यहाँका प्रहरीले त केहि जनालाई गिरफ्तार गरेछन् र मुद्दा चलाएछन् । गाउँका सबै जना छक्क परे । उनीहरुलाई थाहा छैन कि प्रहरीले किन हामीलाई पक्रियो ? किन अनाहकमा हामीलाई मुद्दा लगायो ? हामीले यो शहरको त केहि पनि विगारेका थिएनौं । तर त्यहाँको प्रशासनले उनीहरुलाई छोडेन ।
छलफल गर्दै जाँदा कुरोको चुरो त पछि पत्तो लाग्यो । वास्तवमा ति ठालू भनिएका त अरुले उक्साएर पो भएका रहेछन् । ति ठालू भन्दा माथि त महाठालू रहेछन् । महाठालूको भलाईका लागि ति ठालूले सबैलाई दुःख दिंदा रहेछन् र त्यो मलामीमा पक्राउ पर्ने पनि महाठालू नै रहेछन् । उनीहरुलाई दोष लगाईयो कि ठालूलाई उक्साएर सर्बसाधारणहरुलाई दुःख दिन लगाएको । महाठालूहरुले बल्ल कुरो त बुझेछन् । तर कुरो बुझेर के गर्नु अर्को शहरको प्रशासनले त बन्दीलाई रिहा गर्दैन ।
अब महाठालू गिरफ्तार हुने शहरका दोषी, निर्दोषी र ठालूको समेत ब्यवहारबाट तर्सेकाहरु एकजुट भई विरोधका स्वरहरु मिलाउन थाले । मानौ अरु कुरामा जतिसुकै असहमति भएपनि महाठालू पक्राउ परेको कुरालाई आफ्नो शहरको स्वाधिनतामाथि प्रहार गरेको, हाम्रो आफ्नै मामिला आफैंलाई मिलाउन नदिएको जस्ता आरोप लगाउन थालेछन् । छायाँमा परेका पिडीतहरु समेत आएर स्वरमा स्वर मिलाउन थाले । सबै मिलेर भन्न थाले ः अव हाम्रा गाउँका अध्यक्ष मार्फत ति महाठालूलाई छुटाउन प्रयत्न गर्नु प¥यो । गाउँका अध्यक्ष पनि अक्क न मक्क परे । के गर्ने होला, कसो गर्ने होला । यो गाउँको म प्रमुख भएका नाताले मेरो महाठालूलाई त छुटाउनै पर्ने हो तर अर्को गाउँको अध्यक्षले मान्ने हो कि नमान्ने हो ? ठूलो आपत आईप¥यो । उनीहरु सबै बैठक गर्न थाले । अर्को शहरको उक्त कदमको घोर विरोध गर्न थाले । तर केहि पनि लछारपाटो नलाग्ने भयो ।
त्यस शहरमा उपर ठालू पनि थिए । ति उपर ठालूले पनि यो कुराको घोर विरोध त गरे तर केहि सिप लागेन । त्यसै शहरमा केहि समयको अन्तरालमा एक जना दादा पक्राउ परेछन् । ति उपर ठालू तर्फका दादा रहेछन् । उपर ठालूलाई त सहि सक्नु भएन र भन्न थाले ः “अव यो शहर मेरो नियन्त्रणमा रहेन । दादालाई पक्राउ गर्न यहाँ अनेक षडयन्त्र भयो । म यस कुराको घोर विरोध गर्दछु । दादालाई पक्राउन गर्न पाईंदैन । उनी दोषी भएपनि तिर्थ ब्रतका कारण उनको दोष सबै पखाली सकेको छ ।” यो कुरा सुन्ने बित्तिकै त्यस शहर भित्रका चौथो स्थानमा पर्ने मुखियाहरु उपर ठालूको विरोध गर्न थाले र भन्न थाले ः हामीसँगैका मुखियालाई मार्ने अनि तिर्थ ब्रत र धर्म कर्म गरि दोष पखाल्न पाईंदैन । अव मुखियाहरु एकजुट हुन थाले । दोषीलाई कार्वाही हुनु प¥यो, पिडीतलाई न्याय दिनु प¥यो भन्नेमा उनीहरुको स्वर मिल्न थाल्यो ।
यो चलखेल देखे पछि उपर ठालूले आफ्ना महाठालूलाई अह्राएछन् कि दादालाई छुटाउने काम तपाँईले गर्नु भनेर । ति महाठालूले पनि उपरठालूको आदेश मान्नु पर्ने बाध्यता थियो होला । तत्पश्चात उनले पनि एक चोटी दोषीलाई कार्वाही नगर्न भनि कचहरीलाई चिठी लेखेका रहेछन् । त्यस पछि त मुखियाहरु झन् उफ्रिन थालेछन् । अव उनीहरुले त्यस शहरमा रहेका अर्का शहरकालाई पनि उक्त कुराको जानकारी गराएछन् । अर्का शहरका भलाद्मीहरुलाई पनि यो कुरा चित्त बुझेन । उनीहरुले उपर ठालू, महाठालू सबैलाई कचहरीको कार्वाही नरोक्न भने तर उपरठालूले टेरेनन् ।
एक पठक महाठालूलाई अर्को शहरबाट सम्मेलनमा भाग लिन निम्तो आयो । महाठालू पनि खुसी भए । उक्त निम्तो बमोजिम महाठालू आफ्ना सहयोगीलाई समेत लिएर अर्को शहर जाने तयारीमा लागे । तर निम्तो दिने शहरका प्रतिनिधिले नै आफुले भनेको नटेर्नेलाई आफ्नो शहरमा किन जान दिने भनेर जान नदिने मनस्थिति बनाए । महासेठ निराश हुन थाले र जान दिन बिन्ती गर्न थाले । अनुनय विनय पश्चात ति प्रतिनिधिले जान दिने सोच त बनाए, फेरी अर्को हल्ला आयो ः महाठालू अर्को शहरमा गए भने पक्राउ पर्न सक्नेछन् । उनको डरले सातो पुत्लो गयो । आधा बाटो बाटै उनी पर्किन बाध्य भए । सबै जना छक्क परे ! महाठालूले किन बल्ल तल्ल पाएको भ्रमण समेत स्थगित गरे ? हामी पनि जान नपाउने भयौं भन्दै कानेखुसी गर्न थाले ।
कुरो पछि पत्ता लाग्यो, दादालाई कार्वाही नगर्नु भनेर कचहरीलाई चिठी लेखेका कारण उनी पनि अर्को शहरमा पक्राउ पर्ने सम्भावना रहेछ । “मुति सक्यो दैलो देख्यो” भन्या जस्तै गल्ति भई सकेपछि बाटो देखेको त काम नलाग्ने भयो, समय त वित्यो । अव नयाँ बाटोको खोजी गर्नु पर्ने भयो ।
“भताभुंग शहरको लथालिंग चाला” भनेझैं त्यो शहरमा सबै कुरा लथालिंग नै थियो । कुनै पद्धति भन्ने कुरा थिएन, स्थिरता थिएन । त्यहाँका अगुवाहरु सधैं झगडा मात्र गरिरहन्थे । कोहि उपरठालूलाई हटाई अर्को उपर ठालु बनाउनु प¥यो भन्ने गर्थे त कोहि होईन यसै उपरठालूलाई नै निरन्तर उपरठालू नै बनाईराख्नु पर्छ भन्थे । निकास निकाल्न दिनहुँ बैठक बस्ने तर केहि निकास ननिस्कने । शहरका जनता महंगी, अत्याचार, भ्रष्टाचार, बलात्कार, हत्या, फिरौति, चन्दा, आतंक जस्ता बिकृतिले निराश भएका थिए । आखिर समाधान हुनुको साटो समस्या झन् झन् थपिंदै जान थालेका थिए ।
त्यो शहरको कुनाको एउटा गाउँमा मानिसहरु दिन दिनै जसो दुर्घटनाबाट मर्दै गएका थिए, घाईते हुँदै गएका थिए, अपाङ्गता बढ्दै गएका थिए, अशिक्षा, कुरीति, गरीबी जस्ता समस्याले पिरोलीरहेको थियो । भोकमरीले सताईरहेको थियो । बेरोजगारीले युवाहरु तड्पिएर बाँच्न बाध्य थिए । कुनै उद्योग, कल कारखाना थिएनन् । नुनको मूल्यले सुनको भाउ छुन लागेको थियो । हिंड्ने बाटाहरु सबै भत्केका थिए । तर त्यो शहरका अगुवाहरुलाई कुनै वास्ता थिएन । महाठालूले त त्यो कुनाका समस्या समस्या नै हो जास्तो मानेको थिएन । यसै गरी दिनहरु बितिरहेका थिए । ठालू, महाठालू र उपरठालू आफ्नै तालका, सर्व साधारण जस्ताका तस्तै । आखिर त्यो शहरको विकास कहिल्यै भएन ।