चिन्तापुर बन्दैछ नेपाल !
शुभ समाचार कहिल्यै सुन्न पाईंदैन बिहान उठ्दाखेरि चिन्ता, उठेपछि के खाने र कसरी खाने भन्ने चिन्ता किनकि अभाव, महंगी र गरीबीले जनताको घाँटी थिचिसक्यो । दिउँसो के गर्ने र कहाँ कसरी जाने भन्ने चिन्ता, काम र गन्तब्यको ठेगान छैन जरुरी काम परेका बेला बन्द र हड्ताल ! साँझ अँध्यारो भईसकेपछि अधिकाँश ठाउँमा बिजुली नै पुगेको छैन पुगेको ठाउँमा पनि चाहिएको बेला बत्ती हुँदैन साँझ सुत्ने बेलासम्म चिन्ता । नेपाली राजनीतिले जनताहरुलाई दिएको उपहार यहि हो ।
दश वर्षमै नेपाललाई सिंगापुर बनाउने सपना बोकेका गणतन्त्र नेपालका पहिला निर्वाचित प्रधानमन्त्रीले नौ महिनामै सत्ताबाट हात धुनु प¥यो । त्यसपछिका सरकार प्रमुखहरुले पनि सोचेजस्तो काम गर्न सकिएन भनेर आफ्नै मुखारबिन्दुबाट पुकारेको कुरा हो । देश र जनताको आशाको केन्द्र बिन्दु मानिएका प्रधानमन्त्रीको कार्यकालमा शक्तिशाली छिमेकी मुलुक चिनका प्रधानमन्त्रीले तीन दिने औपचारिक भ्रमणलाई स्थगित गरि पाँच घण्टे “सरप्राईज भिजिट” गर्नुले नेपाल शान्ति तथा सुरक्षाका दृष्टिले कमजोर मुलुक भएको कुरा विश्वमा सन्देश पुगिसकेको छ । यि सबै घटनाक्रमहरु हाम्रा लागि बिडम्बनाका करा हुन् ।
मानव जीवनको उत्पत्ति देखि अहिले आधुनिक विश्वसम्मको शिक्षा भनेको विकास एउटा निरन्तर प्रक्रिया हो । कसै ब्यक्ति विषेशले चाहँदैमा विकास रातको रात भई दिने कुरा होईन, बरु बिनाश हुन क्षणभर लाग्दैन । नेपाल यस्तो मुलुक हो जहाँ विकासका आयामहरुको परिक्षण गरिन्छ र त्यसको सिकाईबाट अन्तै विकास हुन्छ । छिमेकी मुलुक भारतमा अंग्रेजहरुको शासन भएका बेला उनीहरुले नेपालबाट धेरै कुरा सिक्दै भारतलाई विकासका ठूला पुर्वाधार सुम्पिएर गए र आफ्नो मुलुकलाई स्वर्ग जस्तै बनाए । त्यसपछि आएर हालसम्म यस्ता उदाहरणहरुको बिटो बनिकेको छ । अव नेपालमा कोहि विकास गरेर देखाईदिन्छु भनेर तम्सिन्छ भने त्यो निकम्मा बनेर बस्नु वा फर्किनु पर्ने हुन्छ । त्यसो भए नेपालमा विकासका लागि प्रयास नै नगर्ने त ? भन्ने प्रश्न पनि आउला । तर यहि अवस्थामा नेपालमा विकासले गति लिने सम्भावना छैन ।
नेपालमा प्राचिनकाल देखि नै ठूला ठूला राजनीतिक क्रान्तिहरु भईसकेका छन्, त्यसको लागि धेरै उदाहरण दिईरहनु पर्दैन । भरखरै सम्पन्न ऐतिहासिक जनआन्दोलन २०६२÷६३ एउटा ठूलो राजनीतिक क्रान्ति हो । अधिकाँश जनताहरुलाई नेपालमा संविधान बन्यो कि बनेन, शासकीय स्वरुप कस्तो चाहिने, निर्वाचन प्रणाली कस्तो हुनु पर्ला, कार्यकारी प्रमुख को हुनुपर्ला आदि ईत्यादि कुरासँग कुनै मतलब छैन । किनकि जनताका लागि यि कुरा गौण हुन बरु नेताहरुलाई मात्र यसले पिरोलेको छ । नेपाली राजनीतिले समाजलाई यसरी धमिलो बनाएको छ कि जहाँ न माछा नै भेटिन्छ न त खान पानी नै पाईन्छ । एकै घरका दाजुभाईहरु यसका कारण आपसमा लडिरहेका छन् तर केहि भेटाउन भने सकेका छैनन् । राजनीतिक दल र नेताहरुले भने यसरी ढाँटीरहेका छन् कि पहिलेका लोककथामा भन्दा बढी । एउटा लोककथामा “कुनै घरमा पाहुना आउन लागेका हुन्छन् श्रीमान र श्रीमतिले पाहुनालाई माया गरे जस्तो पनि गर्ने र पन्छाउनको लागि झगडा पनि गरे जस्तो गर्ने सल्लाह गर्छन् । जव पाहुना घरमा आईपुग्छन त्यतिबेला दुबै जनाले झगडाको नाटक शुरु गर्छन् । श्रीमानले श्रीमतिलाई बेस्सरी कुटे जस्तो गरी लठ्ठी भुईमा थेचार्छन् अनि श्रीमति बेस्सरी दुःखेजस्तो गरि कराउन थाल्छे । अनि पाहुना घरको पछाडी लुकेर हेरिरहेका हुन्छन् । जब उनीहरुलाई पाहुना गईसके जस्तो लाग्छ तब श्रीमान् भन्न थाल्छ ः हेर श्रीमति म खाली कुटे जस्तो मात्र गर्ने तर नकुट्ने, अनि श्रीमति पनि के कम ? भन्छे कि ः म पनि कहाँ कम छु र रोए जस्तो मात्र गर्ने तर नरुने ! अनि घरको पछाडी लुकेर हेरीरहेका पाहुना निस्केर भन्छन ः हामी पनि कहाँ कम हौं र ? गए जस्तो गर्ने तर नजाने ! आँखिर पाहुना र बुढाबुढी सबै हिस्स पर्छन् । सबैले एक अर्कालाई शंका मात्र गरि रहन्छन् ।” नेपाली राजनीतिको चाल यो भन्दा कमि छैन ।
जनसंख्या बृद्धि भई रहेको छ तर उत्पादन घटिरहेको छ । जनताले कर तिरेका तिरेई छन् तर उनीहरुको विकास भन्दा नेताहरुको भूँडी भर्ने र राजनीतिक दलहरु मोटाउने काम मात्र भएको छ । अभाव, गरीबी, महंगी, अत्याचार, भ्रष्टाचार, दमन र शोषण बढेको बढेई छ । बेरोजगारीको समस्याले सबैखाले जनशक्ति पलायन हुँदै गएको छ । स्वदेशमा रोजगारी छैन बाँकी रहेका निमुखा र श्रमजीवी वर्गले पनि गरिखान पाएका छैनन् वातावरण पनि बिग्रीरहेको छ । नेपाल पर्यटन वर्ष भनेर घोषणा हुन्छ, राजनीतिक दलहरु नै बन्द हड्ताल गरिरहेका हुन्छन् । विश्व जलसम्पदाको दोस्रो ठूलो धनी देश नेपाल, सबै गाउँमा विजुली नै छैन, भएको ठाउँमा पनि कहिले त १८ घण्टासम्म लोडसेडिङ हुन्छ ! तर बिजुलीको महशुल बढीरहन्छ । एक चोटी त जनताहरुले नेपाल सिंगापुर बनी पो हाल्छ कि भनेर सपना देखिरहेका थिए तर नेपाल त चिन्तापुर पो बन्दैछ ।
अव नेपालमा विकास गर्न राजनीतिक क्रान्तिको जरुरत छैन । धर्म निरपेक्ष राज्य घोषणा गरिदिंदा पनि विपन्न जनतालाई कुनै वास्ता छैन । किनकि कुनै पनि राजनीतिक सिद्धान्तले देवी देवताको पुजा गर्नु हुँदैन र जनै लगाउनु हुँदैन भनेको छैन । यि कुराहरुलाई सामाजिक संस्कार र मानिसको चेतनाले निर्देशित गरेको हुन्छ । विकासका लागि अव यहाँ सामाजिक क्रान्तिको आवश्यकता खड्केको छ । सामाजिक क्रान्तिको लागि चेतना आवश्यक हुन्छ, जुन चेतनाको क्रान्तिले सबै विपन्न जनताहरुको आर्थिक स्थितिलाई मजबुत बनाउन सकोस । त्यस्तो सामाजिक क्रान्ति, जुन परम्परागत क्रान्ति भन्दा भिन्न होस् । एउटा क्षेत्र, समुदाय, टोल र ब्यक्ति मात्र होईन कि समग्र ब्यक्ति, टोल, समुदाय तथा क्षेत्रमा सामाजिक क्रान्ति ल्याउनु पर्ने भएको छ । जुन सामाजिक क्रान्तिले सबै भन्दा पहिला अति विपन्न, कमजोर, पिछडीएका, हेपिएका, चेपिएकाहरुको विकास हुन सकोस । सरकारी तथा गैह्रसरकारी क्षेत्रका कामहरु खुद्रा पसलको ब्यापार जस्तो नबनोस् । सबै विकासका कार्यहरु एकद्वार मार्फत जनताको घरदैलोसम्म पुग्न सकोस् । बिचमा हुने चुहावटलाई जनताले टाल्न सकुन् । राज्य र मातहतका निकायहरु जनताको सहयोगीमात्र बनुन् । नाम मात्रका अधिकार सम्पन्न जनता नभई साँच्चिकै निर्णय गर्न सक्ने, छनौट गर्न सक्ने र आवाज बुलन्द गर्न सक्ने जनता बनुन् । यसका लागि सामाजिक क्रान्तिको आवश्यकता रहेको छ । जुन क्रान्तिबाट कोहि पनि मानिस नमरोस् । यो कुनै दलको पनि क्रान्ति नबनोस् कि जहाँ अरु केहि समुदायले भाग लिंदैनौ भनि पन्छिनु पर्ने हुन्छ । यसमा बालक देखि बुढापाकासम्म, महिला पुरुष, पछाडी पारिएका, अशक्त, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लीम, ईसाई, बौद्ध, अल्पसंख्यक सबैको संलग्नता होस् र सबै हामी सबै एक हौं भन्ने भावनाका साथ समान रुपले लाग्न सकुन् । त्यसपछि नेपालको विकास सम्भव छ अन्यथा नेपाल सिंगापुर होईन कि झन् चिन्तापुर बन्दै जानेछ ।