नेपाललाई अक्टोपस चाहिएको छ

Mahadev Bharati/ September 10, 2018/ By Mahadev Bharati/ 0 comments

विश्वकप फुटबल चलिरहेको बेला जति चर्चा विश्वका प्रमुख राष्ट्रहरुको सुनिन्थ्यो त्यस भन्दा पनि अक्टोपसले गरेको भविष्यवाणी के हुन्छ भनि त्यसको बढी चर्चा सुनिन्थ्यो । आखिरमा समुद्री जीव अक्टोपसले जे भविष्यवाणी गरयो त्यो ठ्याम्मै मिल्यो । त्यसपछि कतिले अक्टोपसको प्रशंसा गरे भने कति उसँग रिसाए ।

   अहिले नेपालको राजनीतिमा झन् पहिलेको भन्दा किचलो बढेको पाईन्छ । यसको मूख्य कारण के हो त भनि सबै नेपाली जनताहरुले समेत बुझिसक्दा पनि नेपालका राजनेताहरुले अहिलेसम्म पनि बुझ्न सकेका छैनन् । अव नेपाली राजनीतिमा कसरी सहमति होला र यो देशले नयाँ संविधान पाई नयाँ नेपाल तिर लम्कला त सबैले एक पटक सोच्ने बेला आएको छ ।

अव नेपालमा संविधान बन्ला त ? बने पनि कस्तो किसिमको संविधान बन्ला ? महिला, दलित, अपाङ्ग, जनजाति, मधेसी, बालबालिका, पिछडीएका वर्ग तथा क्षेत्र, सिमान्तकृत ….. आदि सबैका हक अधिकार सुनिष्चत होलान त ? यो सबैको हेयमा रहेको यक्ष प्रश्न हो । वास्तवमा यस प्रश्नको सहि जवाफ को सँग छ त ?

     उत्तर सजिलो छ, कसैसँग पनि यसको सहि जवाफ छैन । अव यस प्रश्नको सहि जवाफ खोज्नको लागि नेपालले समुद्रतिर दौडिनु पर्ने भएको छ । दौड्न त दौडने तर नेपालमा समुद्र नै छैन त कहाँ दौडिने ? या त भारततिर दौडिनु प¥यो, या त चीन तिर दौडिनु प¥यो, या त हवाईजहाज चढेर विश्वका अरु कुनै मुलुकतिर दौडिनु प¥यो । हुन त त्यो अक्टोपस कुन देशबाट ल्याउने भन्ने कुरामा पनि विवाद होला तर नेपालमा अव एक अक्टोपस चाँहि अवश्य चाहिएको छ । किन कि माथिका सबै प्रश्नको जवाफ अव नेपाली नागरिकले चाहेका छन् । उक्त प्रश्नहरुको नेपालका नेताहरुले त जवाफ दिन सक्दैनन् भने अव नेपाललाई अक्टोपस चाहिएन त ? त्यो अक्टोपसले सम्पूर्ण प्रश्नको सहि जवाफ नमिलाउन सकेपनि नब्बे प्रतिशत चाँहि मिल्ने सम्भावना छ । त्यति जवाफ पाईए पनि नेपाली जनातालाई त पुगिहाल्यो नि ।

    यदि नेपाली जनताले परनिर्भरता हुने होईन भने नेपालमा दूरदर्शी राजनेताको खाँचो छ । नत्र भविष्यमा नेपाल अहिलेको अवस्थामा पनि रहला भन्न सकिंदैन । यदि त्यस्ता किसिमका दूरदर्शी राजनेता नेपालमा जन्मेका छैनन् भने अहिले कै नेताहरु भएपनि पुग्छ तर नेपाललाई एक अक्टोपस चाहिएको छ । किनकि उसले भविष्यवाणी गर्नेछ । त्यस परिणाम प्रति सबै नेपाली जनता तथा यहाँ राजनीतिक दलका नेताहरु त सचेत बन्ने छन् यदि अहिले दूरदर्शी नेता छैनन् भनेपनि नयाँ राजनेताको यहाँ जन्म हुनेछ र नेपालले विकासको नयाँ मोड लिनेछ । नेपाली जनताले सधै भरिको किचलो होईन शान्ति, प्रगति र समृद्धि चाहेका छन् । त्यसका लागि नयाँ र सबैलाई अनुकुल हुने संविधान चाहिएको छ ।

हुन त नेपाली कति सोझा ! पहिले पनि यहाँ अनेक ज्योतिषहरुले र अन्य मजाक गर्ने ब्यक्तिहरुले हचुवा तालमा “अव सूर्य धर्तीमा आउँदैछ । यहाँ महाभूकम्प  गई भारी वर्षात् हुनेछ र सबै प्राणी नष्ट हुनेछन्” भनि भविष्यवाणी गरे । धेरै नेपालीहरुले घरमा पालेर राखेका खसी नष्ट गरेर समेत खाए । घरमा थुपारेर राखेको अन्नलाई सिध्याए । परदेश गएकाहरु घरमा सँगै मरौंला भनेर घर फर्के । धेरै जसो दैनिक कामकाज गर्न छोडे । आखिरमा त्यो तोकिएको दिन पनि आयो तर यहाँ केहि पनि भएन । किनकि त्यो साँचो भविष्यवाणी थिएन । त्यो भविष्यवाणी गर्नेवाला ब्यक्ति पनि अज्ञात थियो । तर यदि उक्त भविष्यवाणी मान्छेले नगरेर कुनै अन्य जीवले गरेको भए सायद साँचो हुन सक्थ्यो । सृष्टिमै सबै भन्दा सर्वश्रेष्ठ प्राणी भनेर मानिने मानव नामक जीव कुनै भविष्यवाणी गर्न सक्दैन बरु अन्य अचेत प्राणीहरुले गरेका भविष्यवाणी सत्य मिल्न जान्छ । जस्तै ः गंगटोले बाढी आउनुभन्दा अगावै खोला छोडीसक्छ । तर मानिस थाहा पाउँदैन उसलाई बाढीले बगाएर लैजान्छ । भूईचालो आउनु भन्दा अगाडी कुकुरले थाहापाउँछ तर मानिसले थाहा पाउन सक्दैन र भूईचालोको शिकार बन्न पुग्दछ । यस्ता तमाम उदाहरणहरु छन् कि जो सचेत मानिसले थाहा पाउन सक्दैन तर अचेत प्राणीले पहिले नै भविष्यवाणी गरिसक्छ । त्यस कारण अव नेपालमा भएका प्राणीहरुको संरक्षण गरेर तिनीहरुलाई संरक्षण गर्नु प¥यो र यहाँ नपाईने अक्टोपसलाई तुरुन्त बाहिरबाट झिकाउनु प¥यो । नत्र भने नेपालको भविष्य अनिष्चित भईसकेको छ ।

      हुन त नेपालमा जे काम पनि अनिष्चित नै हुने गरेका छन् । कहिले आम हड्ताल हुन्छ त त्यो पनि अनिष्चित हुन्छ । कहिले कहिले वर्षात हुन्छ त त्यो पनि अनिष्चित हुन्छ । कहिले खडेरी पर्छ त त्यो पनि अनिष्चित । जुनसुकै कुरा पनि यहाँ अनिष्चित हुने गरेको देखिन्छ । तर अव नेपाली सचेत नागरिकहरु जुनसुकै कुराको पनि निष्चितता चाहन्छन् । विकास निर्माणका कुरा पनि निष्चित, संविधान निर्माणपनि निष्चित, जलवायू पनि निष्चित, महंगीको सिमा पनि निष्चित, कुनै कुराको अभाव पनि निष्चित । अव वास्तवमा नेपाललाई अनिष्चितताको घेराभित्र बाँधेर राख्न पाईंदैन । अनि त्यो निष्चितता चाहिं कसले प्रदान गर्न सक्छ त ? ज्योतिषीले पनि सक्दैनन्, वुद्धिजीविले पनि सक्दैनन्, राजनीतिज्ञहरुले त झनै सक्दैनन् । त्यसकारण यि तमाम कुराको निष्चितताको लागि अव नेपाललाई एउटा युवा, बैज्ञानिक तथा दूरदर्शी अक्टोपस चाहिएको छ ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*